एउटा समय थियो जतिबेला एउटा ठूलो राजनीतिक खेमाले धन हुनेजति सबैलाई सामन्ति र शोषकका रूपमा चित्रित गर्यो। त्यसको असर समाजमा अझै बाँकी छ। जबकी राजनीतिको उद्देश्य नै व्यक्ति, समाज र देशलाई संवृद्ध बनाउनु हो, सही बाटोबाट सक्दो धन कमाउन प्रेरित गर्नु हो। तर ‘धन’ नै त्यो समयमा गलत विम्वको रूपमा प्रयोग भयो। सही तरिकाले धन कमाउनेहरू पनि सामन्ति र शोषक कहलिए र उनीहरूसँग सो राजनीतिक खेमाले त्यस्तै व्यबहार गर्यो।
त्यसैगरी अहिले सन्दर्भवस देशभरी मार्सी भातको विम्व फैलिएको छ। यस्तो छाप फैलाइएको छ कि मार्सी भात भनेको धनाड्य, माफिया, फटाहाहरूले खाने खाना हो। हामीले मार्सीजस्ता धानहरू त नेपालमा सक्दो प्रवर्धन गर्नु पर्छ। जुम्लाको मार्सीजस्तै देशका अन्य कयौं ठाउँहरूमा रैथाने जातका अर्ग्यानिक (जैविक) भन्न मिल्ने धानहरू, काला नमक (कपिलवस्तु), तिल्को (दाङग), चननचुर (सप्तरी), जेठो बुढो (पोखरा), जोरायल बासमति (डोटी), लल्का बासमति (बारा, पर्सा) आदी फल्दछन्।
धानविद् डा भोलामान सिंह बस्नेतका अनुसार हाल नेपालमा चार प्रतिशतमात्र रैथाने धान फल्छ र बाँकीलाई विकासे धानले प्रतिश्थापन गरिसक्यो, जुन दुखको कुरा हो।
त्यसैले यस्तो वातावरण बन्न नदिउँ जहाँ मार्सी या रैथाने चामलको भात खानेजति सबै व्यंगका पात्र बनुन्। सकेदेखि त चामलका हकमा मात्र होइन, अन्य खाद्य उत्पादनका हकमा समेत सिँगो देशलाई अर्ग्यानिक (जैविक) बनाउने हाम्रो उद्देश्य हुनुपर्छ। ‘मार्सी भात’ गलत विम्वका रूपमा स्थापित नहोस्।
– रविन्द्र मिश्रको फ़ेसबुक वालबाट